काठमान्डू । २०७४ भाद्र २५ गते रक्षा सचिव श्रीधर सापकोटा र का.मु.प्रधान सेनापति बलाधिकृत रथी बलदेव राज महतद्वारा गत श्रावण महिनामा परेको अविरल वर्षाको कारण आएको बाढीले क्षतिग्रस्त सडक, कलभर्ट तथा बाटोहरु मर्मत गरी आगामी असोज २ गते प्रदेश नं.२ मा हुन गईरहेको तेस्रो चरणको निर्वाचनको क्रममा सर्वसाधारण जनताहरुलाई मतदान केन्द्रहरुसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरु सुचारु गर्न स्थानीय निकायहरुसँगको सहकार्यमा नेपाली सेनाले धनुषा, सप्तरी र रौतहट जिल्लाहरुमा गरिरहेको मर्मत कार्यप्रगतिको निरीक्षण गरिएको छ । सोही क्रममा मध्य पूर्वी पृतना हे.क्वा., धनुषा र मध्य पृतना हे.क्वा., मकवानपुरको समेत निरीक्षण भ्रमण गरिएको नेपाली सेनाले जानकारी गराएको छ ।
निरीक्षण भ्रमण सकेर रक्षा सचिव सापकोटा तथा का.मु.प्रधान सेनापति महत भाद्र २५ गते नै काठमाडौं फिर्ता भएका थिए । उल्लेखित जिल्लाहरुको भ्रमणको दौरान पूर्वी पृतनापति उपरथी गौरव तण्डुल, मध्य पृतनापति उपरथी प्रभुराम शर्मा र मध्य पूर्वी पृतनापति उपरथी ईश्वर हमाल समेतको सहभागिता रहेको थियो।



