काभ्रे । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–१ स्याउलीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।
पनौती–तालढुङ्गा भित्री सडकखण्डअन्तर्गत स्याउलीथलीमा नम्बर नखुलेको बोलेरो जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो।
दुर्घटनामा जीपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको नाम, ठेगाना तथा अन्य परिचय तत्काल खुल्न सकेको छैन।
दुर्घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको छ। घाइतेहरूको परिचय र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण प्राप्त हुन बाँकी छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली तथा एम्बुलेन्स घटनास्थलतर्फ खटिएका छन्। भौगोलिक विकटता र जीप सडकबाट धेरै तल खसेकाले उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। जीपमा कति जना सवार थिए, कहाँबाट कहाँ जाँदै थियो र दुर्घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
मृतक तथा घाइतेको पहिचानसहित दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।




