काठमाडौं । निजामती कर्मचारी वर्गका अभिभावक, संरक्षकका रुपमा रहेका डा. बैकुण्ठ अर्यालले निजामती प्रशासनको उच्च पद मुख्यसचिव पद सम्हालेपछि निजामती क्षेत्रमा सन्तुलित, भेदभाव रहित न्यायिक निर्णय हुने केही आशा जगाएको कर्मचारीले बताएका थिए । तर, अर्यालले पनि कर्मचारी सरुवा बढुवामा सरकारको हस्तक्षेप रोक्न नसकेको गुनासो पुन कर्मचारीले गर्दै आएका छन् ।
निजामती प्रशासनमा डा. अर्यालको खासै गुट छैन । तर, पनि उनले श्रम, रोजगार तथा सामाजिक मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरेर थन्क्याइएका सचिव एकनारायण अर्याललाई गृह सचिव बनाउन ठुलै कसरत गरेको भएपनि सफल हुन सकेका छैनन् ।
मुख्यसचिवले चाहेर पनि प्रधानमन्त्री, सरकारका मन्त्रीको इच्छाबेगर केही गर्न सक्दैन भन्ने धेरै उदाहरण बाहिर आएका छन् । निजामती प्रशासनमा अब्वल उच्च अधिकृत मान्निछन् सचिव अर्याल । तर, पनि उनलाई मुख्यसचिवले चाहेर पनि उपयुक्त मन्त्रालयमा सरुवा गर्न किन सकेका छैनन् ? उनी मात्र होइन, मुख्यसचिव अर्याल निकट मानिएकाकामकाजी केही सहसचिवहरुले पनि महत्वपूर्ण निकायमा जिम्मेवारी पाउनबाट विमुख भएका छन । सहसचिव प्रकाश दाहाल यतिखेर बागमती प्रदेशको अर्थ सचिवमा सीमित हुन पुगेका छन ।
मुख्यसचिव निकट रहेको सहसचिव उत्तर खत्री पनि अर्थ मन्त्रालयको बजेट महाशाखामा सीमित भएर बसेका छन् । उनले पटक पटक आन्तरिक राजश्व विभागको महानिर्देशमा जाने इच्छा व्यक्त गरेको भएपनि सफलता हासिल गर्न सकेका छैनन् । सहसचिव सेवन्तक पोखरेल भने भन्सार विभागको उपमहानिर्देशक रहेका छन् । अर्का सहसचिव पुष्पराज शाहीलाई भने मुख्यसचिव अर्यालले रोजेको सम्पत्ति शुद्धीकरण अुनसन्धान विभागमा खटाउन सफल भएका छन् ।
उक्त बिभागमा रक्षा मन्त्रालयमा कार्यरत सहसचिव प्रकाश पौडेललाई खटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्री अर्याललाई निर्देशन दिएका थिए । तर, मुख्यसचिव अर्यालले प्रधानमन्त्री दाहाललाई हरेक बिङ्गा लगाएर प्रशासन शाखाबाट सहसचिव पौडेलको नाममा उठिसकेको टिप्पणी समेतलाई बदर गर्न लगाएर आफू अनुकूलका शाहीलाई खटाएको स्रोतले बताएको छ ।
दसैँ अघि रिक्त रहेको शहरी बिकास मन्त्रालयमा प्रधानमन्त्री कार्यालयमा कार्यरत इन्जिनियर समूहका सचिव मणिराम गेलाललाई खटाउन प्रधानमन्त्री दाहालले मुख्यसचिव अर्याललाई मौखिक रुपमा निर्देशन दिएका थिए ।तर, मन्त्री सीता गुरुङले असहमति जनाएको कारण नेपाल ट्रष्टमा कार्यरत सरजु बैद्यले बाजी मारेका छन् । उच्च तहका कर्मचारी सरुवामा मुख्यसचिवले चाहेर पनि केही गर्न सक्दैनन् भन्ने माथि उल्लेखित केही घटनाले पनि प्रष्ट पारिदिएको बताइन्छ । (साँघु साप्ताहिक, २०८० कात्तिक २०)




