काठमाडौ, २४ भदौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले भदौ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरेको छ ।
कम्पनीको हकप्रद सेयरमा लागि अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो । अर्थात् कम्पनीले हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता सेयर निष्काशन गरेको हो ।
यस अनुसार कम्पनीले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर निष्काशन गरेको छ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन १२ गते बुकक्लोज गरेको थियो ।
यस अनुसार साउन ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल 'बी' प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सानिमा क्यापिटल तथा सानिमा बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सी आस्वा प्रणालीमार्फत र सीडीएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।



