सुनसरी । भारतबाट अवैध रूपमा भन्सार छली नेपाल ल्याएर लुकाइराखिएको एक सय २८ बोरा युरिया मल र त्यसको ओसारपसारमा प्रयोग भएको आशङ्का गरिएको मोटरसाइकल प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगञ्ज गाउँपालिका-१, मध्यहर्षाहीबाट उक्त परिमाणको युरिया मल बरामद गरिएको हो। बरामद गरिएको युरिया मलको अनुमानित बजार मूल्य एक लाख ६६ हजार ३०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय देवानगञ्ज र अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट संयुक्त रूपमा परिचालित प्रहरी टोलीले भदौ २१ गते बिहान करिब ९ः३५ बजे उक्त मल फेला पारेको हो।
भारतसँग सीमा जोडिएको देवानगञ्ज क्षेत्रमा भन्सार छली गरेर ठूलो परिमाणमा युरिया मल ल्याइएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। टोलीले मध्यहर्षाहीस्थित एक स्थानमा खोजी गर्दा लुकाइछिपाइ राखिएको अवस्थामा एक सय २८ बोरा युरिया मल फेला पारेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रहरीले मलसँगै को.५प ९१२० नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। उक्त मोटरसाइकल मलको अवैध ओसारपसारमा प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ। यद्यपि, मोटरसाइकल धनी तथा मल भण्डारण र ओसारपसारमा संलग्न व्यक्तिका सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
बरामद मल र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ। भन्सार कार्यालयले बरामद सामग्रीको मूल्याङ्कन, स्वामित्व पहिचान तथा प्रचलित कानुनबमोजिम थप कारबाही अगाडि बढाउनेछ।
नेपालका विभिन्न जिल्लामा खेतीको मौसममा किसानले रासायनिक मलको अभाव झेलिरहेका बेला सीमावर्ती क्षेत्रबाट हुने मलको अवैध आयात र कारोबार चुनौतीका रूपमा देखिएको छ। सरकारी निकायबाट अनुदानमा उपलब्ध गराइने मलको आपूर्ति पर्याप्त नहुँदा सीमावर्ती क्षेत्रमा भारतबाट चोरीपैठारी गरी मल ल्याउने प्रवृत्ति बढ्ने गरेको छ।
यसरी भन्सार नतिरी ल्याइने मलको गुणस्तर, आधिकारिक स्रोत र बिक्री मूल्य स्पष्ट नहुने भएकाले किसानसमेत ठगिने जोखिम रहन्छ। अवैध रूपमा भित्र्याइएका सामग्रीको कारोबारले सरकारी राजस्वमा क्षति पुग्नुका साथै सीमाक्षेत्रमा तस्करीको सञ्जाल विस्तार हुने खतरा पनि रहन्छ।
भारतसँग खुला सीमा जोडिएको सुनसरीका विभिन्न नाकाबाट हुने भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्न प्रहरीले निगरानी बढाएको जनाएको छ। बरामद युरिया मल कसले भारतबाट ल्याएको, कहाँ लैजान खोजिएको थियो र यसमा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले बरामद मल र मोटरसाइकल आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइएको जानकारी दिनुभएको छ।




