सडक डिभिजन भरतपुरका अनुसार २०८३ साउन २० गते बुधबार बिहान सडकखण्डको चेनेज २४+६५० क्षेत्रमा पहिरो खसेको हो। पहिरोका कारण बिहान ७ः०५ बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अवरुद्ध सडक खुलाउन सडक डिभिजनको उपकरण तथा जनशक्ति परिचालन भइसकेको छ। पहिरो हटाउने काम जारी रहेको र कुनै थप अवरोध उत्पन्न नभए सडक पूर्ण रूपमा सञ्चालनमा आउन करिब एक घण्टा लाग्ने अनुमान गरिएको डिभिजनले जनाएको छ।
सडक अवरुद्ध हुँदा मुग्लिन र नारायणगढ दुवैतर्फ जाने सवारीसाधन रोकिएका छन्। यात्रु तथा सवारी चालकलाई सडक सञ्चालनको आधिकारिक सूचना नआएसम्म धैर्य गर्न र सम्बन्धित निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।
वर्षाको समयमा यस सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा खस्ने जोखिम रहने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनसमेत सडक डिभिजनले अनुरोध गरेको छ।
तस्बिर : सडक सुपरभाइजर ईश्वर क्षेत्री/सडक डिभिजन भरतपुर




