हिमाल मासिकको नाम मात्रको सम्पादकको जिम्मेवारी पाएका रविन गिरी र अनलाइन संस्करणको जिम्मेवारी सन्त गाहा मगरले पाएपछि जागिर छोड्ने पत्रकारको लर्को लागेको पत्रकारहरु बताउछन् । पत्रकारहरुका अनुसार, दुवै जनाले ‘इस्यू’ फिटिक्कै नबुझ्ने र नेतृत्वदायी भूमिका निभाउन नसकेपछि छोटो समयमा झण्डै दर्जन पत्रकारले राजीनामा बुझाएर बाटो लागेका छन् ।
आरआर कलेजका सहप्रध्यापक समेत रहेका बद्री पौडेलले काम शुरू गरेको एक महिना नहुँदै हिमाल छोडेका थिए । सम्पादकीय बैठकमा अनावश्यक गफ गरेर २/३ घण्टा बिताउने र पत्रकारिताका गुरुका अगाडि पत्रकारिताकै गफ हान्न थालेपछि असह्य भएर पौडेलले राजीनामा दिएका थिए । त्यसको केही दिनअघि मात्रै प्रकाश गुरागाईंले राजीनामा दिएर हिँडेका थिए ।
अनावश्यक रूपमा पेल्ने र एकै व्यक्तिलाई काम बढी लगाउने गरेपछि गुरागाईं हिँड्न बाध्य भएको पत्रकारहरु बताउछन् । त्यसपछि तुफान न्यौपाने, राजकुमार बानियाँ, सजना बरालले हिमाल छोडे । पछिल्लो समय विशेष संवाददाता मुकेश पोखरेल र मस्त केसीले राजीनामा दिएको त्यही कार्यरत पत्रकारहरु चर्चा गर्दछन् ।
स्रोतले दिएको जानकारी अनुसार, गिरीले आफूभन्दा अब्बल र ‘इस्यू’ बुझ्नेलाई फिटिक्कै रुचाउँदैनन् । जिन्दगीमा एउटा पनि बाइलाइन नलेखेको र क्षमताभन्दा आफू माथिका सबैले छोडेपछि ‘चिठ्ठा’ मा सम्पादकीय नेतृत्व पाएका गिरी अब्बल पत्रकारसँग तर्सिने गरेको चर्चा पत्रकारहरु गर्दछन् ।
अब्बल पत्रकारलाई हटाउन गिरीलाई अनलाइन संस्करणका सम्पादक गाहाले साथ दिंदै आएको चर्चा पनि छ । तर, मगरले राजीनामा दिएका पत्रकारलाई छुट्टै भेटेर मैले केही भनेकै छैन । तपाईं हिमाललाई चाहिन्छ, राजीनामा फिर्ता लिनुस् भन्दै आफू बच्ने कोसिस गर्दैछन् ।
यतिसम्म कि गिरीले निकै अनुभवी र पुराना पत्रकार राजकुमार बानिया“को क्षमतासँग डराएर, सिधै कुरा गर्न नसकेपछि मध्यरातमा ईमेल लेखेर राजीनामा दिन आग्रह गरेका थिए । दुई दिनको बिदा लिएर पोखरा गएका बानिया“लाई गिरीले राति १२ बजेतिर मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उत्तिखेरै बानियाँले राजीनामा पठाएका थिए ।
मस्त केसीलाई पनि उसैगरी ईमेल गरेर कार्यक्षमता पुगेन भनेका थिए । ईमेलमै थप बहस नगरौं भने पनि केसीले भोलिपल्ट कार्यालय गएर दुवै सम्पादकलाई सँगै राखेर मैले के चाहिं काम गर्न सकिन“ ? भनेर प्रश्न गर्दा दुवै सम्पादकले जवाफ दिन सकेका थिएनन् । अनुहारमै हेर्न नसकेर गिरीले मूल्यांकन निरपेक्ष हुँदैन भन्दै टारेका थिए ।
त्यसपछि राजीनामा लेख्न थालेका केसीलाई बोलाएर अनलाइन संस्करणका मगर र समाचार प्रमुख रमेश कुमारलाई साँक्षी राखेर जे भयो, भयो, यो कुरा हामीमै सीमित राखेर काम गरौं भन्दै गिरीले आग्रह गरेका थिए । त्यसको तीन दिनमै केसीले राजीनामा दिएर हिंडे । पोखरेललाई पनि उसैगरी हिमाल छोड्न बाध्य बनाएका थिए । ग्राफिक्सका सुवास थापालाई पनि राजीनामा दिन लगाएका थिए ।
धेरै जनाले हिमाल छोडेर हिंडेपछि गिरीले ‘जुनियर’ पत्रकारलाई बोलाएर घुमाउरो पारामा जागिर नछोड्न आग्रह गर्न थालेको पत्रकारहरु बताउछन् । तर, हिमालका सबै पत्रकारलाई संस्था घाटामा छ भनेर सुनाउँदै हिंड्छन् ।
बिहान उठेदेखि राति सुत्ने वेलासम्म हिमालकै कुर्सीमा हुने गिरी र गाहाले ‘एस म्यान’लाई मात्रै च्यापेर हिंड्ने गरेको आरोप पीडित पत्रकारहरुको रहेको छ ।
‘इस्यू’मा राम्रो दख्खल राख्ने र हिमालमा सबैले रुचाएका समाचार प्रमुख रमेश कुमार चाहिं गिरी र मगरको मुनी बसेर किन काम गरेका होलान् ? भनेर हिमालकै पत्रकार आश्चर्यचकित छन् ।
छोटो समयमा धेरै अब्बल पत्रकारले छोडेपछि प्रकाशक कनकमणि दीक्षित सम्पादक गिरी र मगर दुवैको कार्यशैलीबाट असन्तुष्ट रहेको चर्चा पनि छ । तर, मन मिल्ने सम्पादक नपाएर मात्रै केही समयलाई चुप लागेका छन् । अनलाइनको सम्पादक भनिएका मगरले त अरुको समाचार पढ्ने र त्यही समाचारमा एउटा ‘कोड’ थपेर समाचार लेख्दै आएका छन् ।
गिरी वेलावेला खोज पत्रकारिता केन्द्र (खोपके) पुगेर आफ्नै सहकर्मीको बारेमा कुरा लाउ“छन् । गिरी खोपके जानुको मुख्य कारण चाहिं सम्पादक किरण नेपाल फेरि हिमाल फर्किहाल्छन् कि भन्ने डर हो । पत्रकारहरु भन्छन्–हिमालमा मलाई हटाउने केही पाकिरहेको त छैन भनेर आफैं तर्सेर उनी खोपकेमा बुझ्न पुगेका होलान् ।
हिमालका पूर्व सम्पादक किरण नेपाल, पूर्व सहायक सम्पादक सञ्जीव शर्मा, पूर्व समाचार सम्पादक रामेश्वर बोहरालगायतले प्रकाशक दीक्षितस“ग भेटेको थाहा पाए मात्रै गिरी र मगर आफ्नो जागिर जाने भयो भन्दै रातोपिरो हुने गरेका छन् । त्यसैगरी, पूर्व सम्पादक किरण नेपाललाई ‘आइडल’ मान्ने पत्रकारलाई पनि गिरी र मगरले रुचाउँदैनन् ।
पहिला हिमाल छोडेर ६ महिनापछि गिरीलाई किरण नेपालले नै अनलाइनको कार्यकारी सम्पादक बनाएर हिमाल भित्र्याएका थिए । अनलाइन पत्रकारिताको अनुभव र खास दक्षता नभएका गिरीले पछि प्रकाशक दीक्षितसँग आफ्नै सम्पादक नेपालको बारेमा नानाथरी कुरा लगाएर हिमाल छोड्न बाध्य बनाएको कुरा घाम झै छर्लङ्ग भन्छन् हिमालको पत्रकारहरु ।
(साँघु साप्ताहिक, २०७८ माघ ३ गते)




