काठमाडौं । सरकारले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) पुनर्गठन गर्दै प्रमुखको जिम्मेवारी नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई दिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को नियमित बैठकले शर्मालाई सीसीएमसीको सदस्य–सचिवको जिम्मेवारी दिएको स्रोतले बताएको छ । सीसीएमसीको सदस्य–सचिव प्रमुख रहने व्यवस्था छ ।
शर्मासँग नेपाली सेनाका अतिरिक्त सेना समायोजनसम्बन्धी अनुभवसमेत छ । नेपाली सेना र तत्कालीन माओवादी सेनाको समायोजन गर्ने प्रयोजनार्थ गठित विशेष समितिका उनी संयोजक थिए ।
यसअघि सीसीएमसीको प्रमुख ईश्वर पोखरेल थिए । तर उनलाई जिम्मेवारीबाट मुक्त गरेर प्रधानमन्त्रीले यसको नेतृत्व लिएका छन् । समितिमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री, गृह, सामान्य प्रशासन तथा संघीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसंख्या, अर्थ, कृषि, परराष्ट्र, ऊर्जा र पर्यटन मन्त्री सदस्य छन् ।




