काठमाडौं । खोज तथा अनुसन्धानमूलक पत्रकारितामा खोज पत्रकारिता केन्द्र (खोपके) को आफ्नै विशिष्ट योगदान छ । भ्रष्टाचार, अनियमितता र बेथितिसँग सम्बन्धित विषय पर्गेलेर खोपकेले मुलुकको सुशासनका लागि इँटा थपेका कैयन् उदाहरणहरू छन् । तर अहिले इतिहास बोकेको, सुशासनको धरोहर यही संस्थाको छवि धमिल्याउने गरी अपारदर्शी काम–कारबाही भएको भन्दै पत्रकारहरूले नै गुनासो गर्दै औंला ठड्याउनुपर्ने अवस्था आएको श्रोत बताउँछ ।
खोपके सञ्चालक समितिले हालै हिमालका पूर्वसम्पादक किरण नेपाललाई सम्पादकमा नियुक्त गरेको छ । खोपकेको प्रचलनअनुसार, सम्पादकीय नेतृत्वका अतिरिक्त व्यवस्थापकीय पाटो पनि सम्पादकले सम्हाल्ने प्रचलन छ । यसर्थ अब गर्विलो इतिहास बोकेको संस्था हाँक्ने दायित्व नेपालको काँधमा आएको छ । तर यिनै नेपालको नियुक्तिमा पत्रकारहरूले अहिले सबैभन्दा धेरै प्रश्न उठाएका छन् । उनीहरूको तर्क छ– विधि र प्रक्रिया नपु¥याईकन स्वार्थ बझाएर टीकेशैलीमा सम्पादक नियुक्त गरियो । यो प्राकृतिक न्यायको सिद्धान्तविपरीत छ ।
पत्रकारहरूको सबैभन्दा ठूलो प्रश्न सम्पादक छनौट उप–समितिसँग छ । यसले खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान गर्नुपर्नेमा त्यसलाई संकुचित गरेर सीमित व्यक्ति बिच मात्र प्रतिस्पर्धा गराएको पत्रकारहरूको आरोप छ ।
खोपकेले सम्पादक छनौट प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्ष चन्द्रकिशोर झाको संयोजकत्वमा राजीनामा दिइसकेका तत्कालीन सम्पादक शिव गाउँले र अर्का एक पूर्व अध्यक्ष नम्रता शर्मा सदस्य रहेको उप–समिति बनाएको थियो ।
तर उप–समितिले खुला प्रतिस्पर्धा नगराई आफ्ना सदस्यलाई मात्र इमेलमार्फत इच्छा जायर गर्न भन्यो । यस्तो सूचनापछि जेबी पुन, राजाराम गौतम, सुदर्शन घिमिरे, दीपक अधिकारी, प्रकाश रिमाल र किरण नेपालले इच्छा देखाएका थिए । तर छनौटका कुनै मापदण्ड नै नअपनाई, परीक्षा नलिई मनमौजी आफ्नै हात जगन्नाथ गरेर नेपाललाई सम्पादकमा नियुक्त गरिएको छ । जबकि, नियुक्तिको अधिकार छनौट उप–समितिसँग नभएर सञ्चालक समितिसँग हुन्छ । तर त्यसो नगरी नियुक्त गरियो ।
खोपकेका एक सदस्य सम्पादक नियुक्ति सेटिङका आधारमा गरिएको दाबी गर्छन् । ‘सबैभन्दा पहिले स्वतन्त्र छनौट समिति नबनाएर सम्पादकका आकांक्षीकै चाहनाअनुसार अनुकूल बिन्तीपत्र हाल्न छनौट उप–समिति बनाइयो,’ ती पत्रकार भन्छन्, ‘दोस्रो खुला प्रतिस्पर्धा नगरी संकुचित गरियो । त्यसमा पनि परीक्षालगायतका छनौट गर्ने पद्धति अपनाइएन । योग्यता प्रणालीलाई रद्दीको टोकरीमा हालियो । यो सरासर सेटिङ हो ।’
विधि र प्रक्रिया मिचेर सम्पादक छनौट गरेको खोपके व्यवस्थापनले छनौटमा पर्न नसकेका सम्पादकलाई पनि अपमानजनक व्यवहार गरेको आरोप पीडित पत्रकारहरूको रहेको छ । सम्पादक छनौटमा उनीहरू के कारणले परेनन् र नेपाल किन परे भन्नेबारे अहिलेसम्म सुशासनको वकालत गर्ने खोपकेको व्यवस्थापनले संस्थाभित्रकै आकांक्षीलाई सूसुचित गराउन आवश्यक ठानेको छैन । ‘एक पदका लागि ६ जनाले आकांक्षा देखाएकाले सबैको इच्छा पूरा हुने अवस्था त थिएन । तर नेपाल के कारणले अरूभन्दा योग्य भए ? सुसूचित हुन हकदार थियौं । तर खोपके व्यवस्थापनले यसबारे कुनै जानकारी नदिँदा अपमानित महसुस भएको छ,’ सम्पादकका आकांक्षीमध्येका एक पत्रकारले गुनासो गरे ।
त्यसो त सहायक सम्पादक बाबुराम विश्वकर्माको पनि आफ्नै गुनासो छ । उनी आफैं प्रमोसनको हकदार थिए । खोपकेको कोषाध्यक्ष, बोर्ड सदस्य भइसकेका विश्वकर्मासँग खोज पत्रकारिताको लामो अनुभव छ । पछिल्लो समय संघीयतासम्बन्धी राम्रो स्टोरी उत्पादन गरेका उनलाई पनि सहिद बनाउन खोजिएको छ ।
यद्यपि, उनी अहिलेसम्म त्यहीँ छन् । तर सम्पादक नेपालको मिटिङमा नराख्ने, माइनस गर्ने अव्यावसायिक शैलीबाट उनले अपमान महसुस गरेका छन् । संस्थाका हिसाबले अहिलेका सबैभन्दा सिनियर पत्रकार भए पनि उनलाई हटाउने रणनीति बनाइएको पत्रकारबीच चर्चा छ । विश्वकर्माले सामाजिक सञ्जालबाटै सम्पादक नेपाललाई चुनौती दिएका छन् । एउटा व्यावसायिक संस्थाभित्र सम्पादकबाट सहकर्मीमाथि यो हदको संकीर्णता प्रकट हुनु लज्जाको विषय भएको खोपकेका एक पत्रकार बताउँछन् । यसबारे विश्वकर्मासँग प्रतिक्रिया लिन खोज्दा उनले आन्तरिक विषय भएकाले नबोल्ने बताए ।
एउटै कुर्सीमा २ जना
सरकारी निकायमा कुनै कुनै बेला एउटै पदमा दुई जना रहने गरेको हामीले पढ्दै आएका छौं । खोज पत्रकारिता केन्द्र आफैंले पनि त्यसलाई ठूलै स्कुप मारेजस्तो गरी बेलाबेला उधिनेको उदाहरण छन् । अरूको कमजोरी औंल्याउने त्यही खोपकेको व्यवस्थापनले जगहँसाइ गरेर एकै पदमा दुई जनालाई नियुक्ति दिएको छ ।
सन् २०२१ फेबु्रअरीसम्म शिव गाउँले नै सम्पादकको रूपमा रहने भनिएको थियो । यसको मतलब नयाँ छनौट गरिएका सम्पादक अप्रिलबाट आउनु पर्ने हो । तर बोर्डले फेब्रूअरीको १५ बाटै तलब खानेगरी नियुक्त गरेको छ । ‘यो त एउटै देशमा दुई वटा प्रधानमन्त्री नियुक्त गरिएजस्तो गाईजात्रा भयो,’ एक पत्रकारले टिप्पणी गरे ।
गैरनाफामूलक संस्थामा उपदान कोष
गैरनाफामूलक संस्थाको उपदान कोष हुँदैन । तर खोपकेमा जग हसाइँ गरेर उपदान कोषसमेत खडा गरिएको छ । श्रोतका अनुसार, स्टोरी गरेका पत्रकारलाई शोषण गरेर सम्पादकको तलब र उपदान प्रयोजन निम्ति कोषमा रकम राख्ने गरिएको छ । १ लाखको स्टोरी गर्दा ३० हजार रूपैयाँसम्म कटाएर यो कोषमा राखिन्छ । यसरी पत्रकारको श्रम र वृत्ति विकासमा खर्च गर्नुपर्ने रकम राखेर जम्मा गरिएको कोषमा अहिले झण्डै रु १ करोड जम्मा भएको बताइन्छ ।
पत्रकारहरू सुशासनको कुरा गर्ने खोपकेका लागि यो ठूलो नैतिक प्रश्न भएको बताउँछन् । ‘पत्रकारको नाममा अनियमित काम गरेर उपदान कोष बनाइएको छ,’ एक पत्रकारले भने, ‘कोषबारे छानबिन गर्ने हो भने धेरैको पसिना निस्किनेछ ।’
भत्ताका नाममा यस्तो पनि हुन्छ
खोपकेभित्रको बेथिति यतिमै सकिँदैन । भत्ताका नाममा समेत यो संस्थाभित्र उस्तै दोहन र मनपरी मौलाइरहेको छ । श्रोतका अनुसार, पत्रकारको हकहित र वृत्ति विकासका लागि स्थापना गरिएको संस्थाको बोर्ड बैठकमा प्रतिव्यक्ति ४ हजार भत्ता दिने गरिएको छ । जुम मिटिङको फेसन आएपछि यस्तो प्रवृत्ति अझै बढेको श्रोत बताउँछ । यसरी भत्ता खुवाउन सरोकारवाला नभएर मन परेका आसेपासेलाई समेत राख्ने गरिएको आरोप छ । चन्द्रकिशोर झा अध्यक्ष रहेको खोपके बोर्ड सात सदस्यीय छ । यसले सञ्चालक समिति बैठकमा सदस्यका अतिरिक्त संस्थाका अन्य व्यक्तिलाई पनि निम्त्याउन सक्छ ।
मेन्टरिङका नाममा मनपरी
खोपकेको मेन्टरिङ शीर्षक छ । यो शीर्षक राख्नुको उद्देश्य हो– रिपोर्टरले उत्पादन गरेको सामग्रीलाई प्रकाशनयोग्य बनाउनु । तर त्यस्ता सामग्री आफू निकट पत्रिकाका सम्पादक, बोर्डका नजिकका मान्छेलाई पठाएर रु. १५, २० देखि ३० हजारसम्म अनुहार हेरेर बक्सिस दिइने गरिएको छ ।
एक पत्रकार मेन्टरिङ शीर्षकको रकम हडप्न खोपकेमा लडाइँ हुने गरेको सुनाउँछन् । ती पत्रकारका अनुसार, सामग्री मेल गर्ने र हेरे पनि, नहेरे पनि रकम खातामा जम्मा गर्ने परिपाटी विद्यमान छ । दैनिक पत्रिकाका सम्पादकलाई प्रभावित पार्न पनि यो शीर्षक बढी दुरूपयोग भएको जानकारहरू बताउँछन् ।
संस्थापकले टेक्नै छाडे दैलो
खोपके स्थापनामा योगदान दिने पत्रकारको सूची लामो छ । तिनैको योगदानले खोपके फल्यो, फूल्यो । तर पछिल्लो समय तिनै संस्थापकहरू खोपके टेक्न छाडेका छन् । त्यसको कारण हो– अनुजहरूको मनपरी ।
हस्त गुरुङ कुनै बेला खोपकेका हस्ती थिए । महासचिव पनि भए । सम्पादकको भूमिका पनि निर्वाह गरे । पछि उनलाई जबरजस्ती हटाइयो । गुरुङ अहिले त्यहाँ जाँदैनन् ।
राजेन्द्र दाहालकै कुरा गरौं । खोपके स्थापनामा उनको पनि उत्तिकै भूमिका छ । हिजो फलाएको फुलाएको संस्थामा उनले पनि लामो समयदेखि टेकेका छैनन् । श्रोतका अनुसार, पछिल्लो सम्पादक छनौटमा पनि उनी असन्तुष्ट छन् । खोपके नजानेमा पूर्वकोषाध्यक्ष उजिर मगर, संस्थापकहरू वसन्त थापा, विनोद भट्टराई, दीपक भट्टराईलगायत पत्रकारको लामै सूची बन्न सक्छ ।
सदस्यता वितरणमा ब्रेक
संगठनलाई अघि बढाउन यो चलायमान हुनुपर्छ । पत्रकारको संस्था त अझै बेगवान् हुनुपर्ने हो । तर यो संस्था लामो समयदेखि जिंग्रिएर बसेको छ । सदस्य संख्या घटेको घट्यै छन् । यसको असर २ महिनाअघि जुमबाट आयोजना गरिएको साधारणसभामा राम्रैसँग देखिएको थियो । कोरम नपुगे पनि फर्जी सही गरेर त्यसलाई वैध बनाइएको खोपकेका एक पत्रकारले आरोप लगाए ।
संस्थाको हरिविजोग यो हदसम्म भए पनि नयाँ सदस्यता वितरण गरिएको छैन । केहीलाई वितरण गरिए पनि खोज पत्रकारिता गरेकाभन्दा निकटकालाई राख्ने गरिएको पत्रकारहरूको आरोप छ ।
समावेशिताको धज्जी
खोपकेमा मधेसी, दलित, महिलालाई देखाएर प्रोजेक्ट ल्याइन्छ । तर जसलाई देखाइएर प्रोजेक्ट ल्याइन्छ, तिनै भने उपेक्षा गर्ने गरिएको छ । खोपकेमा आबद्ध भएर पछि बाहिरिएका एक पत्रकार उजिर मगर हस्त गुरुङलगायतलाई उपेक्षा गरिनु त्यसकै उपज भएको बताउँछन् ।
विभेदको खाडल पनि खोपकेमा उत्तिकै छ । यहाँ सम्पादकको तलब साढे २ लाख छ । जबकि, सहायक सम्पादकको तलब सम्पादकको भन्दा निकै कम ८०–८५ हजार मात्र छ । एक पत्रकार खोपकेजस्तो संस्थाका पत्रकारको तलबमा यतिधेरै खाडल हुनु लज्जाको विषय भएको बताउँछन् ।
प्रक्रिया मिचिएको छैन : झा
खोपके सञ्चालक समिति अध्यक्ष चन्द्रकिशोर झा भने अपारदर्शी ढंगले खुला प्रतिस्पर्धाबिनै सम्पादक नियुक्त गरिएको आरोप गलत भएको बताउँछन् । झाका अनुसार, खोपककोे इतिहासमै पहिलोपटक सक्दो प्रक्रिया पु¥याएर सम्पादक नियुक्ति गरिएको छ ।
तपाईं अध्यक्ष रहेको खोपकेले प्रक्रिया मिचेर सम्पादक नियुक्त गरेको आरोप छ नि भन्ने साँघुको जिज्ञासामा उनले भने– खोपकेको इतिहासमै पहिलोपटक सक्दो प्रक्रिया पु¥याएर सम्पादक नियुक्ति गरिएको छ ।’ तर तपाईंहरूले खुला प्रतिस्पर्धा त गराउनु भएन नि भन्ने साँघुको प्रतिप्रश्नमा उनले कुनै चित्त बुझ्दो जवाफ दिएनन् । मात्रै एकोहोरो इतिहासमै सक्दो प्रक्रिया पु¥याएर नियुक्त गरेको दाबी गरे ।
खोपकेमा चुलिएको बेथिति र अनियमितताबारे पनि साँघु प्रतिनिधिले अध्यक्ष झासँग जिज्ञासा राखेको थियो । यसमा उनले विगतको बारेमा आफ्नो कुनै टिप्पणी नरहेको र अध्यक्षको जिम्मेवारी सम्हालेपछि राम्रो गरिरहेको दाबी गरे । समावेशी प्रक्रियालाई अवलम्बन गरेर अवसरहरू वितरण गरेको उनको भनाइ छ ।
‘खोपकेको बारेमा कसले के भन्छन् त्यसमा मलाई केही भन्नु छैन । तर म जबदेखि अध्यक्ष छु, त्यो बेलादेखि राम्रो गरिरहेको छु । समावेशी प्रक्रियालाई अवलम्बन गरेर अवसरहरूको वितरण गरेको छु ।’ खोपकेको संस्थागत चरित्र अध्यक्ष सल्लाहकारजस्तो अनि सम्पादक कार्यकारी हुने भएकाले आफ्नो भूमिका धेरै नभएको उनले टिप्पणी गरे ।




