काठमाडौं । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले यसको नेतृत्व सम्हालेको १०० दिन पूरा भएको छ । जिम्मेवारी लिएलगत्तै जारी गरिएको १६ बुँदे प्रतिबद्धतामध्ये अधिकांश १०० दिनमा पूरा भएका छन् ।
०७७ असोज १४ गते बुढाथोकीद्वारा जारी १६ बुँदे प्रतिबद्धतापत्रमा ‘आजको काम आजै, टाढाको लागि प्राथमिकता’ नारा दिइएको थियो । काउन्सिलले उतिबेलैदेखि यो नाराअनुसार सेवा प्रवाह गर्न थालेको छ । यसले टाढाबाट आएका सेवाग्राहीको पालो कुरेर बस्नुपर्ने बाध्यता हल भएको छ ।
बुढाथोकीले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम सामाजिक सेवा, अपाङ्गता भएका बालबालिका र राष्ट्रिय महत्त्वका अनुसन्धान तथा खोजमा सङ्लग्न व्यक्ति र संस्थाको लागि उपलब्ध गराउने अर्को महत्त्वपूर्ण प्रतिबद्धता पनि जायर गरेका थिए । त्यसलाई पनि आफूले कार्यान्वयनमा ल्याएको बुढाथोकीले बताए ।
यसअघि दोहोरो जिम्मेवारीका कारण काउन्सिलका नेतृत्वकर्ता विवादमा पर्ने गरेकोमा बुढाथोकीले साँघु साप्ताहिकको सम्पादकीय नेतृत्वबाट आफू अलग हुने घोषणा गरेका थिए । पूर्वघोषणाअनुसार बुढाथोकी साँघुको सम्पदकीय नेतृत्वबाट अलग भइसकेका छन् । त्यस्तै, दल तथा सङ्घ–सङ्गठनसँगको आबद्धता पनि त्यागेको बुढाथोकीले बताए ।
देशका विभिन्न क्षेत्रमा सक्रिय २० पत्रकारलाई औषधोपचारमा सघाउने निर्णय पनि काउन्सिलले गरेको छ । ०७७ असोज १९ र पुस २० गते पत्रकार कल्याण कोष उपसमितिको बैठकले पत्रकारको उपचारमा सघाउने निर्णय गरेको हो ।
प्रेस संग्रहालय स्थापनाको महत्त्वपूर्ण काम पनि बुढाथोकीको पहलमा अघि बढेको छ । हालसम्म देशभित्र प्रेस संग्रहालय नरहेको अवस्थामा काउन्सिलले यसका लागि अग्रसरता लिएको हो । अहिले काउन्सिल सामग्री संकलन गर्ने कार्यमा जुटेको छ । सूचना जारी गरेर संग्रहालयका लागि आवश्यक सामग्री उपलब्ध गराइदिन आह्वान गरेको काउन्सिलले जनाएको छ ।
त्यस्तै, प्रत्येक प्रदेशबाट ३ जनाका दरले लेखनवृत्ति दिने र नेपाली र अङ्ग्रजी भाषामा प्रकाशन हुँदै आएको पत्रकार आचारसंहितालाई थप दुई भाषा मैथिली र नेपालभाषामा अनुवाद गरी प्रकाशन गर्ने काम पनि पछिल्ला १०० दिनमा भएका छन् । भाषामा एकरूपताका लागि काउन्सिलको इतिहासमै पहिलोपटक शैलीपुस्तिका तयार गरी प्रकाशन गर्ने काम पनि भएको छ ।
बुढाथोकीलाई गत असोज ९ को प्रेस काउन्सिल सञ्चालक समिति बैठकले कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पिएको थियो । काउन्सिलको नेतृत्व सम्हालेलगत्तै बुढाथोकीले आफ्ना १६ बुँदे प्रतिबद्धता जायर गरेका थिए ।




