चितवन । देशभर लकडाउन भई प्राय स् उधोग ब्यबसाय बन्द रहेको बर्तमान अवस्थामा समेत लागु औंषध कारोबारीको कारोबार भने रोकिनुको सट्टा झन नयाँ नयाँ तरिका अपनाउदै बढ्दै गरेको देखिन्छ । लकडाउनको समयमा पनि लागू औषधि तस्करी गर्ने तस्कर र बेच्ने गिरोहहरुहरुले आफ्नो कारोबारलाई नयाँ शैलीमा बढाईरहेको पाईएको छ। लागू औषध तस्करहरुले नवलपुरको एउटा एम्बुलेन्सको प्रयोग गरी नवलपरासीको बर्दघाटबाट चितवनको भरतपुरमा लागू औषध तस्करी गरेको पाईएको हो ।
घटनाबिबरण अनुसार, २०७६ चैत्र २४ गते भरतपुरको आँखा अस्पतालबाट आँखाको बिरामीको नाटक गरी बिरामी बर्दघाट पुर्याउने भन्दै तस्करहरुले एम्बुलेन्स नै रिर्जभ गरेका थिए । तस्करहरु मध्येका नक्कली बिरामी बिनोद राना मगर र अर्का तस्कर प्रबिन घर्ति गैडाकोटस्थित नारायाणी कालाखेती स्मृति प्रतिष्ठानको लु. २ .च. नम्बरको एम्बुलेन्सलाई रु ७ हजारमा रिर्जभ गरी बर्दघाट गई उताबाट अर्को बिरामी समेत ल्याउने भन्दै एम्बुलेन्समै बर्दघाट पुगी त्यहाँबाट प्रतिबन्धित लागू औषध लिई फर्किएका थिए ।
एम्बुलेन्समै लागूऔषध ल्याईरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले सुनवलबाट फर्किएर बिनोद घर्तीलाई घरमा पुर्याउदै गरेको एम्बुलेन्सलाई भरतपुर २ जलमा रोडबाट एम्बुलेन्समा रहेका बिनोदको साथमा रहेको झोलाबाट लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुबाट प्रहरीले १८७ ट्याब्लेट नाईट्रेभ्याट,९४ थान ईस्पास्मप्रोक्सीन, ४० पिस ट्रमाजोल र १ लिटर फेन्टाको बोतलभरी फेन्सीडायल सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तस्करहरुको बयानको आधारमा त्यो सामानको धनी भएको आरोपमा प्रहरीले अर्का एक ब्यक्ति भरतपुर ११ का अनुप तिमल्सेनालाई समेत पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई ५ दिन म्याद थप गरिएको र चैत २८ गते थप १० दिन म्याद थपको लागि पेश गरिएको चितवन प्रहरीले जनाएको छ ।
चितवन प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्गका अनुसार, उनीहरुलाई लागू औषध ओसारपोसार ऐनअनुसार म्याद थप गरिएको र सोही ऐन मुताबिक कार्बाही हुने बताए । एम्बुलेन्स जस्तो संवेदनशील सवारीमा लागू औषध तस्करी हुनु दुखद भएको भन्दै एसपी गुरुङ्गले एम्बुलेन्सहरुलाई समेत आवश्यक्ता अनुरुप चेकिगं गरिने बताए । ऐन अनुसार पक्राउ गरिएका ब्यक्तिहरुलाई ३ देखि १० बर्षसम्म कैद हुने एस्पी गुरुङ्गले जानकारी दिए ।



