काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले अहिलेको नेतृत्वलाई ताना मार्न थालेको चर्चा छ । भ्रष्टाचार काण्डमा मुछिएपछि उनलाई फुटबलको सर्वोच्च निकाय फिफाले १० वर्षका लागि फुटबलका कुनै पनि गतिविधिमा नरहने गरी निलम्बन गरेको थियो । त्यसपछि उनी फुटबलबाट टाढिएको पाँच वर्ष हुन थालिसकेको छ । थापालाई यहाँसम्म पु¥याउन अहिलेका अध्यक्ष कर्माछिरिड्ड शेर्पाले भूमिका खेलेका थिए । थापाको भ्रष्टाचारको पर्दाफास उनै शेर्पाले गरेका थिए ।
त्यसैले पनि थापाले एन्फामा जोसुकै नेतृत्वमा आओस् तर कर्मा नआओस् भनी पत्रकार सम्मेलन नै गरेका थिए ।
उनलाई फिफाले दश वर्षको कार्वाही गरे पनि उनी फुटबलबाट टाढा हुन सकिरहेका छैनन् । उनको फेसबुक एकाउन्ट सधै चालु हुने गर्छ र फुटबलप्रति प्रतिक्रिया दिइरहन्छ । उनले अहिलेको टोलीले देखाएको गलत कदमप्रति चर्को आलोचना गरेका छन् ।
थापाले पदाधिकारीहरूलाई बाहिर लैजाँदा सेटिङ मिलाउन लगेको भन्ने चर्को आलोचना हुँदै आएको थियो । अहिलेको अवस्था त्योभन्दा खतरनाक भएको आरोप उनले लगाइरहेका छन् । नेपाली फुटबलको सिनियर टिम यतिबेला विश्वकप छनोट खेलिरहेको छ । २०७६ असोज २३ गते अष्ट्रेलियासंग उसकै भूमिमा खेलको नेपालले मंगलबार असोज २८ गते जोर्डनसंग खेल्दैछ उसकै मैदानमा ।
खेल खेल्नेभन्दा बढी त फुटबलका पदाधिकारी नै जन्तीको लस्करजसरी अष्ट्रेलिया पुगे । यसप्रति गणेश थापाले नै कटाक्ष गरेका छन् । उनले ‘नेपाली राष्ट्रिय फुटबल टिम खेल नराम्रोसँग हारिरहेको हुन्छ तर हाम्रा पदाधिकारीहरू व्यवस्थापकहरू विदेशबाट फोटोहरू यसरी सियर गरिरहेका हुन्छन् कि नेपालले ठूलै नतिजा प्राप्त गरेको जस्तो गरी । कमसेकम आफ्नोे टिम हार्दा दुःख त मान्नुस् । त्यसकारण यस्ता फोटो सेयर गर्दा हामीजस्ता नेपाली टिम जितोस् भनेर बसिराखेको तथा खेल हेरी राखेको निम्ति निकै पीडा हुँदो रहेछ ।’
उनले नेपालमा भएको खेल हेर्न नजाने पदाधिकारीहरू विदेश भने लाबालस्कर लागेर गएको देख्दा आश्चर्य मानेका छन् । उनले लेखेका थिए ‘काठमाडौंमा सञ्चालन भइरहेको यु–१८ फुटबलमा टिमले खेल्दा एन्फाका मुख्यमुख्य पदाधिकारीहरू खेल हेर्न पनि नगएको देख्दा आश्चर्य र दुःख लागेको तर तिनै पदाधिकारी अष्ट्रेलिया जाने टिममा जान लागेको देख्दा उहाँहरूको रुचि केमा रहेछ भन्ने कुरा प्रष्ट हुन्छ आशा छ आगामी दिनमा यसतर्फ तपाईंहरूले ध्यान दिनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
थापाले यसरी औंला ठडाउँदा पनि एन्फाका पदाधिकारीलाई कुनै फरक परेन । योभन्दा दुःखद पक्ष के हुन सक्छ भन्ने चर्चा खेलाडीहरूबीच हुने गरेको छ । थापाले यतिबेला फुटबलका साना साना कुरा पनि लेखिरहेका छन् । उमेर समूहको फुटबल टोलीको नतिजालाई पनि गम्भीर रुपमा लिएका छन् ।
उनले यु–१८ प्रतियोगितामा नेपाल भुटानजस्तो कमजोर टिमसंग पराजित हुनुको पछाडि पदाधिकारीको सोच भएको बताएका छन् । उनले भनेका छन्, ‘भुटानले निकै प्रगति गर्यो भनेर लेखेको तथा प्रशिक्षकले भनेको कुरामा मेरो सहमति छैन भुटानले सामान्यरुपमा प्रगति गरेको होला तर हाम्रो नेपाली टिम चाहिँ पहिलेको युवा टोली भन्दा कमजोर भएको चाहिँ हो कमजोर नेपाली टीम भएता पनि माल्दिभ्स र भुटान भन्दा हाम्रो टिम अहिले पनि प्रदर्शनको आधारमा हेर्ने हो भने हामी नै माथि छौं नतिजा नआउनु दुर्भाग्य हो फुटबलमा यस्तो भैराख्छ ।’
गणेश थापाले भनेका छन्, ‘विगतमा हेर्ने हो भने नेपाली युवा यु–१८ टोलीको तयारी पाँच वर्षको तयारी हुने गर्दथ्यो भने यु–१५ करिब तीन बर्षको तयारी हुन्थ्यो जसको परिणामस्वरूप हाम्रो टिम बलियो रहँदै आएको थियो । अहिले कति महिनाको तयारी भयो त तीन महिनाको तयारीले विगतको नेपाली युवा टोली खोज्नु हाल खेलिरहेका खेलाडीहरूप्रति अन्याय हुनेछ ।’
गणेश थापाले प्रश्न उठाउने हिम्मत गर्नुको मतलब हो अहिलेको एन्फाको शैली सही तरिकाले अगाडि बढिरहेको छैन । यसको जवाफ एन्फा नेतृत्वले नदिने हो भने परिवर्तनको नाममा नेतृत्व सम्हालेको अहिलेको कार्यसमिति पनि अप्ठेरोमा नपर्ला भन्न सकिन्न ।



