ब्रम्हहत्याको पाप लाग्दा इन्द्र स्वर्गको शासन गर्न अयोग्य सावित भएपछि पापमोक्षका लागि अज्ञातवासमा घोर तपस्यामा गएका थिए । लामो समय इन्द्र पद खाली रहँदा स्वर्गमा मात्र हैन तीनै लोकमा अराजकता, अव्यवस्था उत्पन्न हुन थाल्यो । त्यस कालमा स्वर्गबाट नै मर्त्य, पाताल, स्वर्ग तीनै लोकको शासनव्यवस्था हेर्ने चलन थियो । त्यसैले इन्द्रलाई तीनै लोकको राजा मानिन्थ्यो ।
इन्द्रको पापमोक्ष नभएको र लामो समय खोजी गर्दा पनि नभेटिएपछि देवताहरूले सल्लाह गरी स्वर्गमा नयाँ राजाको खोजी गरे । तीनै लोकमा खोजी गर्दा मर्त्यलोक अर्थात् पृथ्वीमा बडो प्रतापी, धर्मात्मा र प्रजावत्सल राजा भेटिए- नहुष । हरेक दृष्टिकोणबाट राजा नहुष स्वर्गको राजाका रूपमा योग्य देखिएपछि उनलाई स्वर्ग लगी इन्द्रासनमा विराजमान गराइयो ।
पृथ्वीमा हुँदा आफूले पूजा गर्ने देवताहरूले राजा नहुषलाई पूजा गर्न थाले । इन्द्र जो देवताका पनि देवता थिए । पृथ्वीको एउटा सानो देशका राजा नहुषलाई तीनै लोकले राजा मात्र हैन देउतै मानेपछि उनमा विस्तारै अभिमान बढ्न थाल्यो ।
इन्द्रले भोग गरेका सबै सुविधा र अधिकार प्राप्त गरे पनि इन्द्रायणी शचीले आफ्नो सतित्व बचाइराखेकी थिइन् । नहुषले एक दिन शचीसँग प्रणय प्रस्ताव राखे । सति शचीले अस्वीकार गरिन् । तर नहुषले पिछा छाडेनन् । अति भएपछि शचीले गुरु बृहस्पतिसँग सल्लाह मागिन् ।
बृहस्पतिको सल्लाह अनुसार शचीले नहुषसँग प्रस्ताव राखिन्- म तपाईंलाई मेरो दरबारमा स्वागत गर्न तयार छु तर यहाँ घोडाले तान्ने रथबाट हैन सप्तऋषिबाट तानिएको रथबाट हजुरको सवारी हुनु पर्छ ।
शचीलाई पाउन जेसुकै गर्न तयार नहुषले तत्काल सर्त मानिहाले ।
इन्द्रआदेश अनुसार सप्तऋषि नहुषको रथ तान्न तयार भए । बूढा ऋषिहरूले तानेको रथ वायुपंखी घोडाले ताने जस्तो द्रूत हुने कुरै थिएन । त्यसमाथि पनि ऋषि अगस्त्य मुनि निकै बूढा भएकाले रथ तान्न कठिन परिरहेको थियो ।
इन्द्रायणीसँग मधुर मिलनका लागि आतुर नहुषलाई हतार थियो । उनले ऋषिहरूलाई छिटो रथ तान्न आदेश दिइरहे । आदेशको पालना नभइरहेको पाएपछि लडखडाएर हिडिरहेका अगस्त्य मुनिलाई लात्तै लात्ताले भकुरे ।
अति भएपछि ऋषिहरूले श्राप दिए- हे नहुष ! तैले आफ्नो हैसियत बिर्सिइस् । अब तँ मर्त्यलोकमा सर्पका रूपमा परिणत हुनेछस् ।
ऋषिको श्राप तत्काल कार्यान्वयनमा आयो ।
यसरी एउटा अधम राजाबाट स्वर्गले मुक्ति पायो ।
र, यो कथा हरेक युग र कालखण्डमा दोहोरिइरहेको छ ।
धन्य हो प्रभुको लीला !!



