काठमाडौं । उर्जामन्त्री वर्षमान पुनले २०७६ असार १० गते नेपालस्थित चिनिया राजदूत होऊ यान्छीसंग अनौपचारिकरुपमा मन्त्रालयमा गरेको कुराकानी सञ्चारमाध्यममा सार्वजनिक गरेपछि विवादमा तानिएका हुन् । अनौपचारिकरुपमा गरेको कुराकानीलाई प्रेस विज्ञप्ति नै बनाईदिएपछि नेपालस्थित चिनिया दूतावास थप आक्रोशित भएको स्रोत बताउछ ।
त्यसपछि सरकार र चिनिया दूतावासको चेपुवामा परेका मन्त्री पुन अहिले अप्रत्यक्षरुपमा स्पष्टीकरण दिंदै हिंडेको पूर्व माओवादी केन्द्रका एक नेताले बताए । अनि मन्त्री पुनले आफू निकट केही सञ्चारमाध्यममा समाचार लेखाउन पनि थालेका छन् ।
चीनले ठेक्का लिएका ठूला÷साना आयोजना पछिल्ला दिनमा ढिला हुने र लगानी तथा ऋणको भारी बढ्दै जाने प्रवृत्ति देखिएपछि चिनिया पक्षको आलोचना बढ्दै गएको छ । हुन त, मन्त्री पुनले राजदूत यान्छीसंग पनि यही मेसोमा कुरा गरेका थिए । २०७६ असार १० गतेको भेटमा चिनियाँ लगानीकर्ता र निर्माण कम्पनीले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए ।
जवाफमा राजदूत यान्छीले चिनिया कम्पनीले भोगेका समस्या जानकारी दिंदै आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताएकी थिइन् ।
‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहाँ किन गर्न सकिरहेका छैनन् ? समस्या के हो जसका कारण काममा ढिलाई भइरहेको छ ?’, पुनको प्रश्न थियो, ‘हामी पनि छलफलमा छौं, हाम्रो कारणले हो भने हाम्रो प्रणाली सुधार गर्छौ ।’
मन्त्री पुनले चिनिया कम्पनीले निर्माण गरिरहेको त्रिशूली थ्री ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्न समन्वय गरिदिन आग्रह गरेका थिए ।
चिनिया राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधीन आयोजना छिटो सम्पन्न गर्न पहल गरिरहेको जानकारी दिएकी थिइन् । उनले नेपालको जलविद्युत क्षेत्रमा १४ चिनिया कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिएकी थिइन् ।
चिनिया कम्पनीहरुले परियोजनामा भिसा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहणलगायतका समस्या भोगिरहेको चिनियाँ राजदूतको भनाई थियो ।
मन्त्री पुनका उल्लेखित जिज्ञासा र प्रश्न पुनको नाजायज थिएनन् । तर, आफूले चीनलाई पनि थर्काउने हैसियतमा छु भन्ने देखाउन अनौपचारिक कुराकानीलाई विज्ञप्ति नै जारी गर्दिएपछि नेकपाभित्र पनि समस्यामा परेको स्रोत बताउछ । राजदूत यान्छीले ट्विटरमार्फत मन्त्री पुनको जवाफ दिएकी थिइन् । त्यसपछि मन्त्री पुनविरुद्धको माहोल तातेको हो ।
पछिल्ला दिनमा मन्त्री पद टिकाउन प्रधानमन्त्री केपी ओलीसंग लपक्कै टाँसिएका पुन विगतमा पार्टी एकताको विपक्ष्ँमा थिए । समूह नै बनाएर एकताको विरुद्धमा लागेका पुनले परिस्थिति भड्काउन नसकेपछि एकतामा जोडिए । त्यसकारणले प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसंग नजिकमा परेका थिएनन् तर मन्त्री पद चाहिं प्रचण्डकै दबाबमा पाए ।
त्यसपछि भने प्रचण्डभन्दा प्रधानमन्त्री ओलीको निकट भएर काम गरेका मन्त्री पुनले प्रधानमन्त्री ओलीलाई काम देखाउनका लागि पनि चिनिया राजदूत यान्छीलाई मन्त्रालय बोलाएर त्रिशुली थ्री ए मा चिनिया पक्ष्ँले ढिला गरेको बारेमा प्रश्न उठाएका थिए । जुन मन्त्री पुनका लागि प्रतिउत्पादक बन्दैछ ।
(साँघु साप्ताहिक २०७६ असार १६ गतेबाट)
–––




