पोखरा, माघ १३ \\ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साँच्चै नै संविधान संशोधन हुने सम्भावना देख्नासाथ मधेसकेन्द्रित दलहरु तर्केर भागेको आरोप लगाए ।
पोखरामा हिजो शुक्रबार सामुदायिक रेडियो प्रशारक सङ्घको सम्मेलनलाई सम्बोधन गर्दै ओलीले वाम र मधेसी गठबन्धन मिल्दा दुई तिहाई पुग्ने बताए । संविधान संशोधन हो-हल्ला गर्ने विषय नभएको भन्दै उनले भने, “यदि संविधानमा कुनै विभेद छ भने आउनुस्, छलफल गरौं, तत्काल हटाइन्छ; हामीले उहाँहरुसँग बारम्बार भन्यौ ।”
ड्यासमै रहेका राजपा महासचिव मनिष सुमनतिर फर्किएर ओलीले अघि भने, “लौ, तयार हुनुहुन्छ ? भाग्नुहुन्छ । किनभने संशोधन भयोभने मुद्दा सकिन्छ र उहाँहरुको राजनीति नै सकिन्छ ।”
आफू प्रधानमन्त्री भएकैबेलामा आफ्नै अगुवाईमा सम्बिधान संशोधन गरेको स्मरण गराउँदै केपी ओलीले भने, “सम्बिधान संशोधन गर्नैनहुने त हामीले कहिल्यै भनेका छैनौं। तर, सम्बिधान संशोधनको औचित्यचाहीं पुष्टी हुनैपर्छ।”



