काठमाडौँ । स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको २७ औँ स्मृति दिवसको उपलक्षमा नारायण गोपाल संगीत कोषले यहाँ मंगलबार सांगीतिक कार्यक्रमको आयोजना गर्यो ।
विसं १९९६ असोज १८ मा काठमाडौँको किलागलमा जन्मिएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मंसिर १९ मा निधन भएको थियो ।
प्रसिद्ध गायक नारायणगोपाललाई नेपाल सरकारले स्वर सम्राटको उपाधि दिइएको थियो भने सयौँ गीतमा स्वर संगीत दिएका नारायणगोपालले नेपाली संगीतलाई उचाइमा पुर्याउन निर्वाह गरेको भूमिका अतुलनीय छ ।
झण्डै ५०० भन्दाबढी गीत गाएकामा नारायणगोपालले आफ्नो जीवनकालमा कूल १३७ लोकगीत, पापगीत तथा आधुनिक गीतमामा संगीत दिइ रेकर्ड गराएका थिए ।
गुरु माणिकरत्न स्थापित र गायक प्रेमध्वज प्रधानको संयुक्त कम्पोजमा रहेको गीत नै नारायणगोपालको पहिलो गीत थियो । नेपाली फिल्मका लागि पनि थुप्रै गीत गाएका उनी २०औँ शताब्दीका एक प्रभावशाली गीतकार थिए ।
काठमाडौँको किलागलमा नेवार समुदायमा जन्मिएका नारायणगोपाल गुरुवाचार्य राष्ट्रिय नाचघरको प्रबन्धक तथा सांस्कृतिक संस्थानको प्रबन्ध निर्देशक पनि भए ।
गायक प्रेमध्वज प्रधानले स्व नारायण गोपाललाई स्वर परीक्षाका लागि रेडियो नेपाल लगेका थिए ।
उक्त परीक्षाका लागि डा राममान तृषितले लेखेको ‘पक्षीको पंखामा धर्तिको दियो’ गीतमा स्वर परीक्षा दिएका थिए ।
यो पहिलो स्वर परीक्षामा नै उनी उत्तीर्ण भए । त्रिचन्द्र कलेजको ४०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा पहिलोपटक सार्वजनिक कार्यक्रममा गीत संगीत प्रस्तुत गरे ।
सो कार्यक्रममा उनले तबलावादकको पनि भूमिका निर्वाह गरे । ‘विछोडको पीडा’ र ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ जस्ता असंख्य जनप्रिय गीतले उनलाई लोकप्रियताको शिखरमा पुर्यायो ।
उनको गीत तथा संगीत विशेष गरेर प्रेम, जीवन तथा देशभक्तिमा अशक्त थियो ।
‘जागजाग चम्क हे नौजवान हो’, ‘आमा तिमीलाई जलभरिका औँलाले चुम्न’ जस्ता गीत संगीतले ६० का दशकमा गायक तथा संगीतकार गोपाल योञ्जनसँग मिलेर काम गरेपछि उनले प्रेम, वेदनायुक्त गीत सिर्जनामा तल्लीन भए ।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वरिष्ठ संगीतकार एवं गायक सिके रसाइलीलाई नारायण गोपाल स्मृति सम्मानबाट सम्मान गरे । सो सम्मानको राशि रु २५ हजार नगद तथा सम्मानपत्र रहेको छ ।
त्यस्तै गीतकार रत्नशम्शेर थापा, नगेन्द्र थापा, कालीप्रसाद रिजाल, किरण खरेल, माधवप्रसाद घिमिरे, भेरवनाथ रिमाल कदम, कञ्चज पुडाशैनी, दुर्गालाल श्रेष्ठ, चेतन कार्की, मनबहादुर मुखिया र यादव खरेललाई विशिष्ट गीतकारका रुपमा सम्मान गरियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले नारायणगोपालका कालजायी गीत जति सुने पनि नपुग्ने बताउँदै गीत संगीत व्यक्तिको जीवनमा अभिन्न अंगका रुपमा रहेको उल्लेख गरे ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले नारायणगोपाल आफ्नै सुरतालमा रम्ने स्वाभिमानी व्यक्तित्व भएको स्मरण गरे ।
सम्मान ग्रहण गर्दै वरिष्ठ संगीतकार रसाइलीले नेपालको गीत संगीत क्षेत्रको विकासमा नारायणगोपालले पुर्याएको योगदान अविष्मरणीय भएको बताए ।
कार्यक्रममा गीतकार कञ्चन पुडाशैनी, कलाकार निशा देसार तथा अजर जंगमलगायत नयाँ तथा पुराना गायक गायिकाले गीत संगीत प्रस्तुत गरेका थिए ।



