अर्घाखाँची, ७ चैत : नेपाली लोकसङ्गीतमा मौलिक स्वाद र सांस्कृतिक सम्मिश्रण प्रस्तुत गर्दै आएका गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ गीत बजारमा आएको छ ।
मगर र गुरुङ समुदायको सांस्कृतिक मिठासलाई एउटै कथामा समेटिएको उहाँको नयाँ गीत वसन्त लम्साल ‘युट्युब’बाट सार्वजनिक भएको छ । यस गीतमा मनोरञ्जनसँगै सामाजिक सन्देशलाई पनि प्रभावकारी ढङ्गले प्रस्तुत गरिएको छ ।
गीतमा विश्वास नेपालको सङ्गीत संयोजन, लम्सालसँगै सपना गाहा र सम्झना रणपालको स्वर रहेको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकमा जन्मिएका वसन्त लम्सालले यसअघि सार्वजनिक गरिएको मगर्नीको तीनपाने भाग १ ले पाँच ‘मिलियन’भन्दा बढी ‘भ्युज’ प्राप्त गरेको थियो ।
मगर समुदायको तीनपाने र गुरुङ समुदायको तुम्बा संस्कृतिलाई कलात्मक ढङ्गले एकीकृत गर्दै प्रस्तुत गर्नुभएको छ । लम्सालले १५० भन्दा बढी गीतमा स्वर दिइसक्नुभएको छ । —




